आर्टेमिस–२ का अन्तरिक्षयात्री पृथ्वी फर्किए



काठमाडौं, २८ चैत। आर्टेमिस–२ का चार अन्तरिक्षयात्री आफ्नो ९ दिने ऐतिहासिक मिसन पूरा गरी सुरक्षित रूपमा पृथ्वी फर्किएका छन्।

नेपाली समयअनुसार शनिबार बिहान १ः०७ मा उनीहरूको स्पेसक्राफ्ट प्रशान्त महासागरमा अवतरण गरेको हो। मिसन कमान्डर रिड वाइजम्यानले आफ्नो टोली स्वस्थ रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ।

अप्रिल ६ मा चन्द्रमाको ‘फ्लाइबाई’ गर्ने क्रममा यो यान पृथ्वीबाट चार लाख ६ हजार ७७१ किलोमिटर टाढा पुगेको थियो। यो मानिसले अन्तरिक्षमा तय गरेको अहिलेसम्मकै सबैभन्दा टाढाको दूरी हो।

वायुमण्डलमा पुनः प्रवेश गर्ने क्रममा हुने ६ मिनेटको तनावपूर्ण ‘कम्युनिकेसन ब्ल्याकआउट’पछि यान सुरक्षित रूपमा समुद्रमा ओर्लिएको थियो।

नासाका प्रमुख जारेड आइज्याकम्यानले खुसी व्यक्त गर्दै भने, “हामी अन्तरिक्षयात्रीहरूलाई फेरि चन्द्रमामा पठाउने व्यवसायमा फर्किएका छौँ। यो सुरुआत मात्र हो।”

नासाका एसोसिएट एडमिनिस्ट्रेटर अमित क्षत्रियले यो मिसनले अपेक्षाभन्दा राम्रो नतिजा दिएको भन्दै यसलाई विश्वका लागि उपहारको संज्ञा दिए। उनले भने, “हामीले अब झण्डा गाड्न र फर्किनका लागि मात्र होइन, चन्द्रमामा बस्नका लागि तयारी गर्नुपर्छ।”

अब के हुन्छ?
अन्तरिक्षयात्रीलाई समुद्रबाट अमेरिकी नौसेनाको जहाजमा लगिएको र त्यहाँ उनीहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिने बताइएको छ। त्यसपछि उनीहरूलाई ह्युस्टन लगिनेछ।

मानिसलाई चन्द्रमाको सतहमा उतार्ने अर्को मिसन ‘आर्टेमिस–३’ का लागि टोलीको घोषणा चाँडै गरिने नासाले जनाएको छ।

यो टोलीका सदस्यहरूमा कमान्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, मिसन स्पेसलिस्ट क्रिस्टिना कोच र जेरेमी ह्यान्सेन (क्यानडा) थिए। भिक्टर ग्लोभर चन्द्रमाको कक्षमा पुग्ने पहिलो अश्वेत र क्रिस्टिना कोच पहिलो महिला अन्तरिक्षयात्री बनेका छन्।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्