प्रधानमन्त्री बालेनलाई राष्ट्रसंघका महासचिवले बधाई दिँदै भने- दिगो विकासमा पूर्ण सहयोग रहनेछ



काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपाल र राष्ट्रसंघबीचको अटुट साझेदारीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले कार्यभार सम्हालेकोमा शुभकामना व्यक्त गर्दै महासचिव गुटेरसले ८ अप्रिलमा एक पत्र जारी गर्दै यस्तो भनेका हुन् ।

‘तपाईंको नेतृत्व यस्तो समयमा आएको छ, जहाँ नयाँ पुस्ताले निर्णायक प्रगति, सार्वजनिक जीवनमा उच्च इमानदारिता र नागरिकलाई सेवा प्रवाह गर्ने संस्थाको माग गरिरहेका छन्,’ गुटेरसले पत्रमा भनेका छन् ।

नेपालले राष्ट्रसंघसँग गर्दै आएको निरन्तरको सहकार्य र प्रतिबद्धताको प्रशंसा गर्दै महासचिव गुटेरसले सन् २०३० को दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न नेपालस्थित राष्ट्रसंघीय टोलीले सरकारका प्राथमिकतामा पूर्ण साथ दिने समेत स्पष्ट पारेका छन्।

शाहको कार्यकालमा नेपालले बहुपक्षीय सहयोग र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनेमा राष्ट्रसंघ विश्वस्त रहेको पत्रमा उल्लेख गरिएको छ।

साथै नेपालको दिगो विकास र संस्थागत सुदृढीकरणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्