गृहमन्त्री गुरुङलाई रक्षा बमको प्रश्न- भोलि गरिब हुनु अपराध हो भन्न कति बेर लाग्ला ?
काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिलाई लिएर कडा टिप्पणी गरेकी छन् ।
सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेपछि गृहमन्त्री गुरुङले ‘तिमी जन्मदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ भनेर सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका थिए ।
उक्त अभिव्यक्तिको प्रतिवाद गर्दै बमले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गरेकी हुन्।
रक्षाले देशको २० प्रतिशतभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि रहेको यथार्थ स्मरण गराउँदै भनेकी छिन्- ‘गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छु।’
पदीय मर्यादामा रहेका व्यक्तिहरूले नागरिकको बाध्यतालाई अपमान गर्नुको सट्टा आफ्नो सोच बदल्न समेत उनले सुझाव दिएकी छन्।
‘जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो, भन्न तपाईंलाई कति बेर लाग्ला र ?,’ उनले थप भनेकी छन्
यद्यपी गृहमन्त्री गुरुङले सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा दिएको टिप्पणी हटाएका छन् ।
मन्त्रीहरूको सम्पत्ति कल्पना गरिएभन्दा धेरै देखिएको भन्दै टिप्पणी हुन थालेपछि त्यसको जवाफ दिँदै गृहमन्त्री गुरुङले आफ्नो अभिव्यक्तिको आलोचना बढेपछि पोस्ट हटाएका हुन् ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार
















