सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा उभिए हर्क, भन्छन् – सरकार असफलतातर्फ जानसक्छ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सांसदहरूले स्वकीय सचिव राख्न पाउने प्रस्तावित निर्णयको खुलेर विरोध गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार पर्ने बताएका हुन्। “सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु,” उनले लेखेका छन्।
साम्पाङका अनुसार यदि स्वकीय सचिवलाई मासिक ३० हजार रुपैयाँ तलब दिइए पनि महिनामा करिब ८२ लाख ५० हजार, वर्षमा ९ करोड ९० लाख र पाँच वर्षमा झण्डै ४९ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ।
यसअघि खर्च कटौतीका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूको स्वकीय सचिव सुविधा कटौती गरेको थियो। तर हाल संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति ले पुनः सो सुविधा दिने प्रक्रिया अघि बढाएको छ।
साम्पाङले आफ्नो सुझावलाई गम्भीरतापूर्वक लिए सरकार सही दिशामा अघि बढ्न सक्ने उल्लेख गरेका छन्। “मेरो सुझावलाई बेवास्ता गरिए सरकार असफलता र अपमानतर्फ जान सक्छ,” उनले चेतावनी दिएका छन्।
उनले आफूलाई प्रतिपक्षका नेता मात्र नभई ‘असल मार्गदर्शक’का रूपमा व्याख्या गर्दै सरकारलाई आफ्ना धारणा गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार
















