संसदीय समितिहरूको सभापतिका लागि मनोनयन दर्ता भोलि हुँदै



काठमाडौं । संसदीय समितिहरूको सभापतिमा भोलि मनोनयन दर्ता हुँदैछ।

संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ ।

समिति सभापतिहरूको मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने सूचनामा उल्लेख छ ।

सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जारी गरेको सूचनाअनुसार भोलि दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

चैत २७ गते प्रतिनिधि सभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो ।

सोहि दिन बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी वैशाख ४ गते संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्