पूर्वमन्त्री खड्काको बन्दी प्रत्यक्षीकरण रिटको पेसी संयुक्त इजलासमा



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ ।

उक्त मुद्दाको पेसी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा परेको छ ।

भदौ २४ गते उनको निवासमा भएको आगजनी घटनापछि गरिएको अनुसन्धानका क्रममा नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रा फेला परेका थिए ।

खड्कालाई गत चैत्र १५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले सम्पत्ति शुद्धीकरणको कसुरमा धुम्बाराहीबाट नियन्त्रणमा लिएको थियो ।

गैरकानूनी थुनामा राखिएको जिकिरसहित रिहाइको माग गर्दै पूर्वमन्त्री खड्काको तर्फबाट पत्नी विनिता थापाले रिट दायर गरेकी थिइन् ।

सोहि रिटमाथि बुधबार न्यायाधीशद्वय श्रेष्ठ र थापाको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल समेत बुझाउन आदेश दिएको थियो ।

खड्का सम्पत्ति शुद्धीकरणको कसुरमा सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरे पनि उसले अनुसन्धान गरेर प्रतिवेदनसहित आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाएको थियो। आन्तरिक राजस्व अनुसन्धान विभागले फेरि त्यो फाइल राजस्व अनुसन्धान विभागमा पठाएको छ।

जिल्ला अदालत काठमाडौंले खड्कामाथि अनुसन्धान गर्न तेस्रो पटक म्याद थपपछि खड्का हाल सीआईबीकै हिरासतमा छन्।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्