पासपोर्टमा अध्यागमनले किन लेख्यो, ‘रोजगारी पूर्ण रूपमा निषेधित ?’



काठमाडौँ । पर्यटक भिसामा युएई जानेहरूको पासपोर्टमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले ‘काम होइन मात्र भ्रमणका लागि’ र ‘युएई भ्रमण मात्र, रोजगारी पूर्ण रूपमा निषेधित छ’ भनेर लेख्न थालेका छन् ।

पासपोर्टमा अध्यागमनका कर्मचारीले प्रस्थान अनुमतिको छाप हानेपछि हस्तलिखित रूपमा त्यस्ता भाषा लेख्न थालेका हुन् । रातोपाटीलाई प्राप्त दुई वटा राहदानीको विवरणमा २०८३ जेठ २७ मा फर्किनुपर्ने सर्त पनि उल्लेख गरेको भेटिएको छ ।

पासपोर्टमा त्यस्तो भाषा लेख्दा विदेशमा नेपाली पासपोर्टको महत्त्व झन् कमजोर हुने भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । युएईमा बस्ने नेपालीहरूले पनि त्यसबारे तीव्र आलोचना गर्दै प्रश्न उठाएका छन् । भिजिट भिसा नै लगाएपछि त्यसरी ‘काम होइन मात्र भ्रमणका लागि’ भनेर लेख्नु नपर्ने जानकारहरू बताउँछन् ।

तर, त्यस्ता विवरण राहदानीमा लेख्नेबारे अध्यागमन विभागले कुनैपनि औपचारिक निर्णय नगरेको विभागका निर्देशक टिकाराम ढकालले बताए । उनले भने, ‘राहदानीमा भ्रमण मात्र, रोजगारी पूर्ण रूपमा निषेधित भनेर लेखिएको जानकारी हामीले पनि पाएका छौँ, कसरी त्यस्तो भयो भन्नेबारे छलफल हुँदै छ ।’

विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले निर्णय बिना नै त्यस्ता भाषा लेखेको पाइएको छ । त्यसबारे विभागले आफ्नो धारणा सार्वजनिक गर्ने ढकालले बताए । उनले भने, ‘त्यसमा हामी आधिकारिक धारणा सार्वजनिक गर्छौँ ।’

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्