१८ वर्षदेखि हराएका युवक जब फेसबुकमा भेटिए



कञ्चनपुर, ४ वैशाख। सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसियाली छाएको छ । लामो समयदेखि सम्पर्कविहीन रहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ ।

घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका दीपक गाउँकै एक आफन्तसँग हिमाञ्चल पुगेका थिए । त्यहाँ काम गर्ने क्रममा बिरामी परेपछि ‘अस्पताल जान्छु’ भनेर हिँडेका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए । त्यसयता उनी कहाँ छन् भन्ने कुनै जानकारी परिवारले पाउन सकेको थिएन ।


समय बित्दै जाँदा परिवारले आफन्त र चिनेजानेकाहरूसँग खोजी गरे पनि कुनै पत्तो लागेन । अन्ततः दीपक जीवित छन् कि छैनन् भन्ने नै अन्योलमा परेको अवस्थामा परिवारले आशा मारेको थियो । तर नियतिले नयाँ मोड लियो । भारतको लेह–लद्दाख क्षेत्रमा चौँरीगोठमा काम गरिरहेका एक नेपालीले दीपक नेगीसँग भेट गरेका थिए । कुराकानीका क्रममा उनले आफू कञ्चनपुरको देखतभूलीको दीपक (दीपु) नेगी भएको बताएका थिए ।


त्यसपछि ती नेपालीले दीपकको नाम, ठेगाना र अवस्थासहितको भिडियो फेसबुकमा अपलोड गरे । उक्त भिडियो सामाजिक सञ्जालमार्फत फैलिँदै नेगी परिवारसम्म पुगेको हो । प्रहरीमार्फत सूचना वडा कार्यालयसम्म पुगेपछि परिवार र भिडियो अपलोड गर्ने व्यक्तिबीच सम्पर्क स्थापित भएको थियो । त्यसपछि फेसबुक र फोनमार्फत दीपकको अवस्थाबारे थप जानकारी लिइएको छ ।


मोबाइलको स्क्रिनमा १८ वर्षपछि छोराको अनुहार देख्दा परिवारका सदस्यहरू स्तब्ध बनेका थिए । एकछिन त विश्वास नै गर्न नसकेको परिवार त्यसपछि भावुक बनेको थियो । “भगवान्ले नै आएर खबर सुनाएजस्तो भयो”, दीपकका बुबा डम्बरबहादुर नेगीले भने, “यति वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाएजस्तै हो ।”

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्