लागूऔषध नियन्त्रणमा जुट्यो सुदूरपश्चिम प्रहरी, सरोकारवालासँग गर्यो छलफल
कैलाली । सुदूरपश्चिम प्रदेशमा बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सक्रिय पहल थालेको छ ।
प्रदेश प्रहरी प्रमुख तथा डीआईजी ओमबहादुर रानाको अग्रसरतामा आइतबार प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
सामुदायिक विकास केन्द्र, डोटीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा “लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाममा सरोकारवाला निकायको भूमिका” विषयमा विस्तृत छलफल भएको थियो ।
डीआईजी रानाले लागूऔषध मुद्धामा पक्राउ परेका र लागूऔषधको लतमा फसेका युवाहरुलाई सिपमुलक तालिममा जोड्ने गरी तयारी थालेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्की सहभागी थिए भने सभाध्यक्षता स्वयं डीआईजी रानाले गरेका थिए ।
अन्तरक्रियामा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक सागर बोहराले लागूऔषधको वर्तमान अवस्था, यसको नकारात्मक असर, कानुनी व्यवस्था, चुनौती र समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए ।
उनले सुदूरपश्चिममा लागूऔषधको प्रयोग र ओसारपसार बढ्दै गएको तथ्य औंल्याउँदै यसले विशेषगरी युवापुस्तालाई गम्भीर रूपमा प्रभावित पारेको बताए ।
सहभागीहरूले लागूऔषधको बढ्दो प्रयोगले सामाजिक अपराधदेखि जघन्य अपराधसम्म निम्त्याउने जोखिम बढाएको भन्दै परिवार, समाज र राष्ट्रमै गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका थिए। नियन्त्रणका लागि समन्वय, जनचेतना र कडा कार्यान्वयन आवश्यक रहेको उनीहरूको धारणा थियो ।
मन्त्री सार्कीले प्रदेश सरकार लागूऔषधविरुद्धको अभियानमा पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
यस्तै डीआईजी रानाले प्रहरी संगठन जनताको सुरक्षामा निरन्तर खटिएको उल्लेख गर्दै लागूऔषधको फैलिँदो समस्या चिन्ताजनक भएको बताए ।
‘युवाहरू दुर्व्यसनमा फस्नु व्यक्तिगत मात्र होइन, राष्ट्रकै लागि गम्भीर चुनौती हो,’ उनले भने,’यसको नियन्त्रणका लागि सबै सरोकारवाला निकाय एकजुट हुनैपर्छ ।’
कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला सहभागी थिए ।
यस्तै, जिल्ला प्रहरी कार्यालय कैलाली कञ्चनपुरका कार्यालय प्रमुख, सशस्त्र प्रहरी बल बैद्यनाथ वाहिनीवाट स.प्र.उ देवराज जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय कञ्चनपुरका उप अनुसन्धान निर्देशक प्रकाश शाह, होटल व्यवसायी संघ कैलालीका केशवदत्त पाण्डेय, युनिसेफ नेपालका प्रकाश आचार्य, यातायात व्यवसायी देवीलाल जोशी, प्रदेश किशोर सञ्जालका मातृका प्रसाद उपाध्याय, गैसस महासंघका नरेश ओझा पनि छलफलमा उपस्थित थिए ।
यसैगरी पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा , गाउँपालिका महासंघका नवराज उपाध्याय, सामुदायिक विकास केन्द्रका हेमराज जोशी, हस्पिटल एसोसिएसनका तीर्थराज पन्त, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका चेतराज भण्डारी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप सचिव कमल ओझा लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार
















