तमोरले बगाएर बेपत्ता भएका नौ वर्षीय बालक मृतअवस्थामा भेटिए



काठमाडौं, ११ वैशाख। ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका नौ वर्षीय एक बालक मृतअवस्थामा भेटिएका छन्।

नदी तर्ने क्रममा बेपत्ता भएका बालक पाँच दिनपछि मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक आशिष पोखरेलले जानकारी दिए।

मेरिङदेन गाउँपालिका- ६ नाल्बु घर भई हाल फुङलिङ नगरपालिका-३ मा बसोबास गर्दै आएका ९ वर्षीय बालक फुर्वा शेर्पा मृत अवस्थामा भेटिएका हुन्।

खोजी गर्ने क्रममा बालकलाई बिहीबार साँझ मेरिङदेन गाउँपालिका ३ दोभान छेउको किनार मृत फेला पारिएको प्रहरीले जनाएको छ।

गत शनिबार फुङलिङ नगरपालिका- २ हान्दुरङ र मिक्वाखोला गाउँपालिका-१ खोक्लिङको क्षेत्रमा नुहाउने क्रममा बालकलाई नदीले बगाएको थियो।

बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्