जनमत पार्टीद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौँ, २२ वैशाख। जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।
प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहालका अनुसार पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भएको हो । पत्र ढिलो प्राप्त भएकाले औपचारिक विज्ञप्ति भने पछि सार्वजनिक गरिने उनले जानकारी दिए ।
मधेश प्रदेशसभामा जनमत पार्टीका १२ जना सदस्य रहेका छन् । हाल उक्त पार्टी अर्थ मन्त्रालयसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी छ । पार्टीबाट महेश यादव अर्थमन्त्री तथा वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीमा छन् ।
प्रमुख सचेतक चन्दनकुमार सिंहले समर्थन फिर्ता लिएको पुष्टि गरेका छन् । तर, संसदीय दलका नेता तथा अर्थमन्त्री महेश यादवले भने यस विषयमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । सचेतक सिंहले पार्टी अध्यक्ष डा। सीके राउतसँग सल्लाह गरी समर्थन फिर्ता लिएको दाबी गरे ।
केही सातादेखि समर्थन फिर्ताको चर्चा चलिरहेका बेला मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने सरकार परिवर्तन नहुने दाबी गर्दै आएका थिए ।
यसअघि पनि जनमत पार्टीले आफ्नै नेतृत्वको सरकार ढालेको थियो । ‘जेन–जी’ आन्दोलनका क्रममा फेसबुकमार्फत पार्टी निर्देशनअनुसार तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामाको घोषणा गरेका थिए । तर, पछि उनले राजीनामा नदिएपछि जनमत पार्टीले आफ्नै नेतृत्वको सरकार ढालेर तत्कालीन लोसपाका जितेन्द्र सोनल र सोनल नेतृत्वको सरकारले बहुत सिद्ध गर्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको थियो ।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार







