बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने, मन्त्रीहरूले सामूहिक राजीनामा दिने



हेटौँडा, ५ साउन । बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा (एमाले) सरकारबाट बाहिरिने भएको छ। एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया तथा पार्टी नेतृत्वको निर्देशनअनुसार मन्त्रीहरूले पद त्याग्न लागेका हुन्। मन्त्री किरण थापामगरका अनुसार सुरुमा काठमाडौंमै राजीनामा दिने तयारी भए पनि मुख्यमन्त्री हेटौँडामा रहने भएकाले त्यहीँ राजीनामा बुझाइनेछ।

हाल बागमती प्रदेश सरकारमा एमालेका ६ जना मन्त्री सहभागी छन्। कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटासहित जयराम थापा, किरण थापामगर र भरतबहादुर केसी मन्त्री रहेका छन्।

प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने तयारी गरिरहेको छ। नयाँ संगठन तथा व्यवस्थापन संरचनाअनुसार मन्त्रालयहरूको कार्यविभाजन टुङ्गो लगाइने सरकारको तयारी रहेको जनाइएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार