लुम्बिनी हेरिटेजले आईपीओ जारी गर्ने
काठमाडौं । लुम्बिनी हेरिटेज लिमिटेडले सार्वजनिक सेयर निष्कासन (आईपीओ) को प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
२०८३ वैशाख २० गते लुम्बिनीस्थित कम्पनीको कार्यालयमा सम्पन्न वार्षिक साधारण सभाले आईपीओमार्फत सर्वसाधारणलाई लगानीको अवसर दिने विशेष प्रस्ताव पारित गरेको हो ।
सभामा कम्पनीको अन्तर्राष्ट्रिय साझेदारीका बारेमा समेत जानकारी दिइएको छ। जसअनुसार अन्तर्राष्ट्रिय होटल चेन ‘आईएचजी’ अन्तर्गतको ‘क्राउन प्लाजा’ लाई सन् २०२७ जनवरीभित्र व्यवस्थापन हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
यस साझेदारीले नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्तावलाई समेत स्वीकृत गरेको छ ।
कम्पनीका अध्यक्ष सुवास अमात्यले आईपीओ निष्कासनपछि कम्पनीको पारदर्शिता बढ्ने र दीर्घकालीन रूपमा लगानीकर्ताहरूका लागि प्रतिफल सिर्जना हुने बताए ।
लुम्बिनीमा सञ्चालित यस परियोजनाले आगामी दिनमा अन्तर्राष्ट्रिय ब्राण्डको व्यवस्थापनमा आफ्नो व्यावसायिक उचाइ थप बढाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार
















