एकाएक बढ्यो ओलीको राजनीतिक भेटघाट, पूर्वराष्ट्रपतिले दिइन् यस्तो सुझाव



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओली निवास गुण्डु पुगेकी छन् । त्यहाँ पुगेर उनले लामो राजनीतिक सम्वाद गरेकी हुन् ।

आइतबार दिउँसो १ बजे गुन्डु पुगेकी भण्डारीले दुई घण्टा बढी सम्वाद गरेको स्रोत बताउँछ । स्रोतका अनुसार स्वास्थ्य अवस्था बुझ्न भनेर गुन्डु पुगेकी भण्डारीले ओलीसँग एमालेको आन्तरिक राजनीतिबारे सुझाव समेत दिएकी छन् ।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले पदाधिकारीदेखि तल कार्यकर्तासम्मले निर्वाचनको समीक्षा बैठक राख्न माग राखिरहेको भन्दै समीक्षा बैठक राख्न ढिलाइ नगर्न ओलीलाई सुझाव दिएकी छन् ।

एमालेका पूर्व उपाध्यक्ष समेत भइसकेकी भण्डारीले कार्यकर्तामा निराशा बढ्दै गएको बताउँदै यस्तो अलमलमा धेरै बसिरहनु हुँदैन भन्दै ओलीलाई सुझाव दिएकी हुन् ।

एमालेभित्र ओलीले नेतृत्व छोड्नुपर्छ भन्ने आवाज उठिरहेका बेला भण्डारीले ‘ओलीले छोडिहाल्नुपर्छ भन्ने पनि सुन्छु । त्यो आफ्नो ठाउँमा छ, तर तपाईंले बैठक चाहिँ बोलाइदिनुस्’ भन्दै सुझाव दिएकी छन् ।

ओलीले भने सन्दर्भ नमिलिरहेकाले बैठक बस्न ढिलाइ भइरहेको जवाफ दिएका थिए ।

प्रतिनिधि सभा निर्वाचनमा एमालेले नराम्रो पराजय बेहोरेपछि ओलीमाथि नेतृत्व छोड्न दबाब बढिरहेको छ ।

पछिल्लो सयम ओलीको राजनीतिक भेटघाट तिव्र बढेको छ । वैशाख २२ गते नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटवार्ता गरेका ओलीले त्यसको भोलीपल्टै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन सम्वाद गरेका थिए ।

राजधानीमा आइतबार भएको एक कार्यक्रममा प्रचण्डले वाम एकताबारे बोलेका थिए । उनले भनेका थिए–‘हामीले आफैंले पहिला राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो भन्ने कुरा सच्याउने प्रयास गर्नु र नयाँ ढंगले आन्दोलन अघि बढाउन जरुरी छ । हामीले हिजो जसरी जनयुद्ध, जनआन्दोलन र अभियानका क्रममा जहाँ आइपुगेका थियौं, अहिले फेरि परिस्थितिले एकताको आधार खोजी गर्न बाध्य पारेको छ ।’

विगतमा एमालेसँग भएको एकताको प्रसंगसमेत उल्लेख गरेर वाम एकताको कुरा प्रचण्डले उठाउनु अर्थपूर्ण छ । र, यसमा ओलीसँगको संवाद तथा भेटवार्ता झन अर्थपूर्ण छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्