एनवाईईएफ स्टार्टअप अवार्डमा उत्साहजनक सहभागिता, मे ३१ मा ग्राण्ड फिनाले



काठमाडौं । नेपलिज योङ इन्टरप्रेनर्स फोरम (NYEF) ले आयोजना गर्दै आएको “NYEF Startup Awards” को पाँचौं संस्करणप्रति देशभरका युवा उद्यमीहरूको उत्साहजनक सहभागिता देखिएको छ।

नेपालभरिका स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन, मेन्टरशिप तथा नेटवर्किङ अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष पनि विशेष आकर्षणको केन्द्र बनेको आयोजकले जनाएको छ।

NYEF नेपालका ४० वर्षमुनिका युवा उद्यमीहरूको साझा संस्था हो, जुन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग आबद्ध रहेको छ। संस्थाले युवा व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई सिकाइ, सहकार्य, नेतृत्व विकास तथा व्यवसाय विस्तारमा सहयोग गर्दै आएको छ।

हरेक वर्ष आयोजना हुने “NYEF Startup Awards” मार्फत देशभरबाट स्टार्टअप आवेदन संकलन गरिन्छ। आवेदनपछि सहभागीहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ, जसबाट उत्कृष्ट २० स्टार्टअप छनोट गरिनेछ भने अन्तिम प्रतिस्पर्धाका लागि उत्कृष्ट ७ स्टार्टअपलाई फाइनल चरणमा पुर्‍याइनेछ।

कार्यक्रमअन्तर्गत सहभागी स्टार्टअपहरूले उद्योग क्षेत्रका अनुभवी व्यवसायी तथा नेतृत्वकर्ताबाट व्यक्तिगत मेन्टरशिप प्राप्त गर्नेछन्। साथै, व्यवसाय सञ्चालन, प्रभावकारी प्रस्तुतीकरण, नेटवर्क निर्माण तथा व्यवसाय विस्तारसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

यस वर्षको ग्राण्ड फिनाले तथा पुरस्कार वितरण कार्यक्रम मे ३१, २०२६ मा आयोजना हुने तय भएको छ। अन्तिम चरणमा पुगेका उत्कृष्ट ७ स्टार्टअपमध्ये शीर्ष ३ लाई नगद पुरस्कार प्रदान गरिनेछ।

NYEF Startup Awards मार्फत Delish Yoghurt, Meltdown लगायतका केही चर्चित नेपाली स्टार्टअपहरूले लगानी, पहिचान तथा व्यवसाय विस्तारको अवसर प्राप्त गरिसकेको बताइएको छ।

आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपालमा उद्यमशीलता संस्कृति विकास गर्न, युवा पुस्तालाई नवप्रवर्तनतर्फ आकर्षित गर्न तथा स्टार्टअप इकोसिस्टमलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्