‘प्रचण्ड’सहित शीर्ष नेताहरूले आज संसदमा सम्बोधन गर्ने
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा बोल्ने भएका छन्।
दिउँसो १ बजे बस्ने संसद बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतले सम्बोधनका लागि प्रचण्डले विशेष समय माग गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
फागुन २१ मा भएको निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए। चैत १२ गते बसेको संसदको पहिलो बैठकमा प्रचण्डले सम्बोधन गरेका थिएनन्।
यसैगरी आज दिउँसो बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्ष दल तथा नेपाली काँग्रेस दलका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क बहादुर राई । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन् ।
बैठकमा सत्तारुढ दल रास्वपाबाट सभापतिले सम्बोधन गर्ने कि दलको उपनेताले गर्ने भन्ने विषय टुंगो लागेको छैन ।
बजेट अधिवेशनको पहिलो दिन भने राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार
















