जेनजी आन्दोलन नभएको भए हामी साँच्चिकै भड्खालोमा जाकिने रहेछौँ: अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलन’ लाई सकारात्मक हस्तक्षेपका रूपमा उल्लेख गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको बताएका छन् ।

मंगलबार अर्थसमितिमा पूँजीबजारमा रहेका विकृतिबारे बोल्दै उनले जेनजी आन्दोलन नभएको भए देश भड्खालोमा जाकिने क्रममा रहेको बताएका हुन् ।

पछिल्ला वर्षहरूमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिको कब्जामा पुगेर जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेको आरोप लगाएका छन्।

उनले भने- ‘विगतमा आर्थिक संस्थाहरू केही व्यक्तिको कब्जामा गएर जनताको १५.१६ अर्ब पैसा अपचलन गरेको एकदमै कटु यथार्थ छ ।
जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ, त्यो हस्तक्षेप नभएको भए हामी साँच्चिकै भड्खालोमा जाकिने क्रममा रहेछौँ ।’

वाग्लेले विगतमा बजारमा १५–१६ अर्ब रुपैयाँसम्म जनताको पैसा अपचलन भएको, बजार म्यानिपुलेसन र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति कमाइ राजनीतिक प्रभावसमेत विस्तार गरिएको गम्भीर अवस्था रहेको दाबी गरे ।

उनका अनुसार आम लगानीकर्ताको रकम दुरुपयोग, बजार चलखेल तथा भित्री सूचनाको प्रयोगमार्फत अनुचित लाभ लिने गतिविधिले पूँजीबजारप्रति विश्वास कमजोर बनाएको छ।

वाग्लेले सरकार सुशासन र पारदर्शितामा आधारित विश्वस्तरीय पूँजीबजार विकास गर्ने लक्ष्यसहित अघि बढिरहेको दाबी गरे। उनले स्टक एक्सचेन्ज पुनर्संरचनाका लागि गठन गरिएको समितिबाट प्राप्त सुझाव कार्यान्वयनको चरणमा लैजाने तयारी रहेको जानकारी दिए।

उनका अनुसार सरकारको नीति तथा कार्यक्रममा समेत स्टक एक्सचेन्ज र पूँजीबजारसँग सम्बन्धित उदार तथा सुधारमुखी नीतिहरू समावेश गरिएका छन्। आगामी बजेटमार्फत ती कार्यक्रमलाई थप स्पष्ट र प्रभावकारी बनाइने उनले बताए।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्