रास्वपाले भुल्यो बाचापत्र



काठमाडौँ, ३० वैशाख। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै बाचा पत्र बिर्सिएको छ।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्छ। तर, कानुनी व्यवस्थाभन्दा अगाडि बढेर रास्वापाले सार्वजनिक पद धारण गर्नु अगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचा गरेको थियो।

चुनावका लागि रास्वपाले ल्याएको १०० बुँदे वाचापत्रको बुँदा नम्बर १६ मा यस्तो प्रतिवद्धता छ। जहाँ भनिएको छ, ‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौं।’

निर्वाचनअघि र कार्यकाल पूरा भएपछि आफ्नो र आफ्नो परिवारको सम्पत्तिमा कति परिवर्तन आयो त्यसको स्वतन्त्र लेखा परीक्षण गराएर जनतासमक्ष सार्वजनिक गर्ने पनि रास्वपाको वाचापत्रमा छ।

यी लगायतका वाचामार्फत रास्वपाले दुई सिट कम दुई तिहाइ मत प्राप्त गर्‍यो। यही शक्तिले सरकार पनि बनाएको छ। अहिले प्रतिनिधिसभा र प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति गठन लगायतका कार्य सकिएको छ।

तर, सार्वजनिक पद धारण गर्नुअगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचा रास्वपाका सांसदहरूले सांसद भएर पनि सार्वजनिक गरेका छैनन्।

संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाका अनुसार केवल ५८ जना सांसदले आफ्नो सम्पति विवरण बुझाएका छन्। उनीहरूले संघीय संसद् सचिवालयको सांसद सुविधा शाखा शाखामा बुझाएका हुन्।

रास्वपामा अहिले १८२ जना सांसद् छन्। नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र एक जना स्वतन्त्र सांसद रहेका छन्। यसमध्ये ५८ जनाले मात्रै सम्पति विवरण बुझाएका हुन्।

सांसदहरूले सम्पति विवरण बुझाउने समय भने बाँकी नै छ । संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाले यसअघि नै सूचना निकालेर सांसदहरूलाई आगामी जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन भनेको छ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्