प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा विरोध, हर्क साम्पाङले मागे राजीनामा



काठमाडौँ ३० वैशाख। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि विपक्षी दलहरूले विरोध जनाएका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव प्रस्तुत गर्न रोष्ट्रममा बोलाइएपछि विपक्षी दलहरूले आपत्ति जनाएका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा तथा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध गरेका थिए ।

यसक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री शाहलाई असक्षम भएको आरोप लगाउँदै राजीनामा माग गरेका थिए ।

संसद बैठकमै उनले, “असक्षम प्रधानमन्त्री राजीनामा दे” भन्दै नाराबाजी गरेका थिए । साथै उनले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै संसद सञ्चालन विधि र प्रक्रियाअनुसार हुनुपर्ने बताएका थिए ।

“यो देशमा प्रधानमन्त्री छैन भने छैन भन्नुपर्‍यो, नत्र संसदमा अनिवार्य उपस्थित हुनुपर्छ,” साम्पाङले भने, “संसदमा सम्बोधन नगर्ने प्रधानमन्त्री हुन सक्दैन ।”

विरोधपछि श्रम संस्कृति पार्टीका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।

प्रधानमन्त्री शाह भने सोमबारको प्रतिनिधि सभा बैठकमा उपस्थित थिएनन् ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्