तानसेनमा विद्यालय क्यान्टिनमा आगलागी, चार विद्यार्थी घाइते



तानसेन, ७ साउन । पाल्पाको तानसेनस्थित एक विद्यालयको क्यान्टिनमा आगलागी हुँदा चार जना विद्यार्थी घाइते भएका छन्। बिहीबार दिउँसो दिवा खाजा पकाउने क्रममा ग्यास पाइप लिक भएर आगलागी हुँदा मिलेनियम माध्यमिक विद्यालयका एलकेजीमा अध्ययनरत चार बालिका घाइते भएका हुन्।

घाइते हुनेमा सचिता बानु, पर्सुजा दङ्गाल, अनुष्का कुमाल र आरन्या शाक्य रहेका छन्। घाइतेमध्ये सचिता बानुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मिसन अस्पताल तानसेनका अनुसार बानुको प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा रेफर गरिएको छ। अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले उनको शरीरको ३० देखि ३५ प्रतिशत भाग जलेको बताए।

अन्य तीन बालिकाको भने सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उनीहरूको कपाल डढ्नुका साथै हातखुट्टामा सामान्य चोट लागेको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। विद्यालयका प्रिन्सिपल महेन्द्र पोखरेलले खाजा पकाउने क्रममा ग्यासको पाइप लिक भई एक्कासी आगलागी भएको बताए।

घटनापछि अभिभावकहरूले खाजा पकाउने र खुवाउने काम एउटै कोठामा गरिएको भन्दै गुनासो गरेका छन्। खाजा बनाउने र खुवाउने स्थान एउटै हुँदा नजिकै रहेका बालबालिका आगलागीको जोखिममा परेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार