आईसीसी विश्वकप लिग–२ : स्कटल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल
काठमाडौँ, ४ जेठ। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डविरुद्ध खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने दाउमा छ।
जारी लिग–२ मा नेपाल र अमेरिकालाई डीएल मेथडमा समान २ रनले हराएको स्कटल्यान्ड तेस्रो जितको खोजीमा छ। स्कटल्यान्ड घरेलु मैदानमा नेपाललाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ।
शनिबार अमेरिकामाथि ९ विकेटको फराकिलो जित निकालेको नेपाली टोली सोही लयलाई कायम राख्न चाहन्छ।
नेपाली टोली आजको खेलमा स्कटल्यान्डलाई हराउँदै पहिलो खेलमा भोगेको हारको बदला लिन चाहन्छ।
नेपालका लागि आजको खेल अंक तालिका सुधारका लागि पनि निकै महत्त्वपूर्ण छ। लिग–२ का बाँकी २ खेलमा जित निकाल्दै नेपाली टोली शीर्ष ६ मा रहेर एक दिवसीय वरीयता जोगाउने योजनामा छ।
घरेलु मैदानमा भएको लिग–२ का तीन खेलमा बेन्चमा रहेका ओपनर कुशल भुर्तेलले अमेरिकाविरुद्ध शतकीय पारी खेलेका थिए। इशान पाण्डेको प्रदर्शन पनि सन्तोषजनक नै रह्यो।
जारी सिरिजको पहिलो खेलमा बेन्चमा रहेका ओपनर तथा विकेटकिपर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक पूरा गरे। त्यसैले आजको खेलमा मुख्य प्रशिक्षक स्टुआर्ट लले अमेरिकाविरुद्ध खेलेको प्लेइङ ११ लाई नै निरन्तरता दिन सक्नेछन्।
टोलीको रणनीतिलाई बदल्न उनले खेलाडी परिवर्तन गरेको अवस्थामा सोमपाल कामीको स्थानमा करण केसी आउन सक्नेछन्।
प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार







