पाँच लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ



लहान, ७ साउन । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासबाट खटिएको टोलीले पाललाई सेवाग्राहीसँग घुस रकम बुझ्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षणका क्रममा कर अधिकृत पालले माथिल्लो तहका अधिकारीलाई समेत मिलाउनुपर्ने भन्दै घुस माग्दै आएको आरोप छ। घुस नदिएसम्म कर परीक्षणसम्बन्धी कागजात अगाडि नबढाउने भन्दै उनले दबाब दिएको बताइएको छ।

कर परीक्षणका क्रममा कम्पनीमाथि करिब दुई करोड रुपैयाँसम्म कर दायित्व आउन सक्ने जानकारी कार्यालयले दिएको थियो। थप कागजात पेस गरेपछि कर दायित्व अझ ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने भन्दै पालले सबै कागजात मिलाइदिने बहानामा सुरुमा १२ लाख रुपैयाँ मागेको जनाइएको छ।

कम्पनी सञ्चालकले आर्थिक अवस्था कमजोर रहेको बताएपछि पाँच लाख रुपैयाँमा सहमति भएको थियो। सोही रकम बुझ्ने क्रममा बिहीबार अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।

दिउँसो करिब १२ बजे पक्राउ परेका पालसँग प्रारम्भिक सोधपुछ र आवश्यक कागजी प्रक्रिया पूरा गर्न अख्तियारको टोलीलाई करिब पाँच घण्टा लागेको बताइएको छ।

आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख अमित पौडेलले घटनाबारे आफूलाई पूर्वजानकारी नभएको बताए। उनले भने, “सिरहा सुपर मार्केट कम्पनीले करिब एक लाख रुपैयाँ मात्र कर तिर्नुपर्ने अवस्था देखिएको थियो। यस्तो अवस्थामा घुस लिने प्रयास भएको विषयमा मलाई जानकारी थिएन। अख्तियारले रंगेहात पक्राउ गरेपछि म पनि आश्चर्यमा परेको छु।”

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार