पं. नबराज शारदा स्मृति समाजद्वारा तीन छात्रालाई छात्रवृत्ति प्रदान



काठमाडौँ, १८ जेठ पं. नबराज शारदा स्मृति समाजले तीन जना छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।

पं. नबराज पौडेलको १०७औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो ।

समाजका अध्यक्ष निर्मलराज पौडेलले पं. नबराज पौडेलको स्मृतिमा प्रत्येक वर्ष सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने प्रतिबद्धताअनुसार छात्रवृत्ति प्रदान गरिएको बताए ।

कार्यक्रममा योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शंकरराज पौडेलले समाजले गर्दै आएका सामाजिक तथा शैक्षिक गतिविधिको प्रशंसा गर्दै यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

समाजले संस्कृति, कर्मकाण्ड, सामाजिक संस्कार तथा नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष पौडेलले बताए ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार