गोकर्णेश्वरका छोरीलाई निःशुल्क नर्सिङ शिक्षा, एसइई उत्तीर्णलाई ‘जेनजी छात्रवृत्ति’
काठमाडौँ, २० जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका छोरीहरूलाई निःशुल्क रूपमा नर्सिङ शिक्षा प्रदान गर्ने भएको छ।
नगरपालिकाले ‘नगर छोरी कार्यक्रम’ अन्तर्गत शतप्रतिशत छात्रवृत्तिसहित PCL Nursing अध्ययनको व्यवस्था गरेको हो।
गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने छोरीहरूलाई पूर्ण छात्रवृत्तिमा नर्सिङ अध्ययनको अवसर प्रदान गरिएको नगरप्रमुख दीपक रिसालले बताए।
एसइई उत्तीर्ण गरी नर्सिङ अध्ययन गर्न इच्छुक तथा CTEVT को योग्यता क्रममा समावेश भएका गोकर्णेश्वरका छोरीहरूलाई यथाशीघ्र सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ।
यसैबीच नगरपालिकाले ‘जेनजी छात्रवृत्ति कार्यक्रम’ पनि घोषणा गरेको छ। शैक्षिक सत्र २०८२ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका नगरभित्रका विद्यार्थीलाई लक्षित गर्दै स्वास्थ्य तथा इन्जिनियरिङ अध्ययनका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख रिसालले जानकारी दिए।
उनका अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षामा युवाको पहुँच विस्तार गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘जेनजी छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिएको हो।
कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ। यसमा ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, फिजियोथेरापी असिस्टेन्ट, डेन्टल हाईजेनिस्ट, डिप्लोमा इन फार्मेसी, रेडियोग्राफर तथा अप्थाल्मिक असिस्टेन्ट विषय समावेश छन्।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार







