मेडिकल लाइसेन्स परीक्षामा स्वदेशी कलेजका विद्यार्थीको नतिजा उत्कृष्ट



काठमाडौँ, २० जेठ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको ६९औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर तुलनात्मक रूपमा उत्कृष्ट रहेको देखाएको छ।

काउन्सिलका अनुसार लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत ६६ दशमलव ९५ रहेको छ। स्वदेशी मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेका विद्यार्थीमध्ये ७६ दशमलव ७९ प्रतिशत उत्तीर्ण भएका छन्।

जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको परीक्षामा दुई हजार २६३ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये एक हजार ५१५ जना उत्तीर्ण भएका काउन्सिलले जनाएको छ। स्वदेशी मेडिकल कलेजबाट एमबिबिएसतर्फ सहभागी एक हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना उत्तीर्ण भएका हुन्।

विदेशी मेडिकल कलेजमा अध्ययन गरेका नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत भने औसतभन्दा कम देखिएको छ। भारतमा अध्ययन गरेका विद्यार्थीको उत्तीर्ण प्रतिशत ४२ दशमलव ३१ र चीनमा अध्ययन गरेकाको १५ दशमलव ०४ प्रतिशत रहेको छ।

त्यस्तै, बङ्गलादेशमा अध्ययन गरेका ४१ दशमलव १४ प्रतिशत तथा फिलिपिन्समा अध्ययन गरेका २८ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। इजिप्ट, किर्गिस्तान, रुस तथा युक्रेनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा थप कमजोर देखिएको काउन्सिलले जनाएको छ।

बिडिएसतर्फ स्वदेशी मेडिकल कलेजमा अध्ययन गरेका ४०० परीक्षार्थीमध्ये ३४३ जना अर्थात् ८५ दशमलव ७५ प्रतिशत उत्तीर्ण भएका छन्। भारतमा बिडिएस अध्ययन गरी फर्केका १७ नेपाली विद्यार्थीमध्ये एक जना मात्र उत्तीर्ण भएका छन्।

यस वर्ष एमबिबिएसतर्फको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज ९३ दशमलव १० प्रतिशत उत्तीर्ण दरसहित पहिलो स्थानमा रहेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२ दशमलव २१ प्रतिशतसहित दोस्रो तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ९१ दशमलव ६७ प्रतिशतसहित तेस्रो स्थानमा रहेका छन्। बिडिएसतर्फ गण्डकी मेडिकल कलेजका सबै परीक्षार्थी उत्तीर्ण भएका छन्।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले विदेशबाट अध्ययन गरी आएका परीक्षार्थीको नतिजा कमजोर हुनुको प्रमुख कारण भाषागत समस्या र पाठ्यक्रममा रहेको भिन्नता रहेको बताए।

उनका अनुसार काउन्सिलले अब सैद्धान्तिक परीक्षासँगै व्यावहारिक परीक्षाको व्यवस्था गर्ने तयारी गरिरहेको छ। एउटै परीक्षाको नतिजाका आधारमा स्वदेशी शिक्षा उत्कृष्ट र विदेशी शिक्षा कमजोर रहेको निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ।

डा. पाण्डेले लाइसेन्स परीक्षाको नतिजाले वास्तविक अवस्था उजागर गरेको उल्लेख गर्दै विदेशबाट अध्ययन गरेका परीक्षार्थीको मनोबल कमजोर बनाउने उद्देश्य काउन्सिलको नरहेको स्पष्ट पारे।

चिकित्सा शिक्षाजस्तो संवेदनशील र खर्चिलो क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित लाइसेन्स परीक्षाको नतिजामाथि सूक्ष्म समीक्षा गरी समस्या समाधानका लागि सम्बन्धित सबै पक्षसँग सहकार्य गर्न काउन्सिलले आग्रह गरेको छ।

काउन्सिलका अनुसार यसपटकको परीक्षा कम्प्युटर आधारित परीक्षण (सीबीटी) प्रणालीमार्फत मर्यादित, पारदर्शी र व्यवस्थित ढङ्गले सञ्चालन गरिएको थियो।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्