नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल
काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीले महिला एसिया कप २०२६ खेल्ने अवसर गुमाएको छ। दुई साता अघि नेपाल एसियन गेम्स छनोट हुन समेत असफल भएको थियो।
२०२४ को महिला एसिया कप खेलेको नेपाललाई पुनः एसिया कपमा स्थान बनाउन एसीसी वुमेन्स प्रिमियर कपको सेमिफाइनल पुग्न आवश्यक थियो। तर क्वार्टरफाइनलमा बलियो टोली थाइल्याण्डसँग ५६ रनले पराजित भएपछि नेपालको यात्रा अन्त्य भएको छ। यस जितसँगै थाइल्यान्ड भने एसिया कप २०२६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । बुधबार विहान भएको क्वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।
थाइलयान्डले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक अविजित २० रन बनाइन् । सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
थाइल्यान्डका लागि थिपात्चा पुथावङले ४ ओभरमा ७ रन मात्र दिएर २ विकेट लिइन् । सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले पनि २(२ विकेट लिए भने फनिता मायाले १ विकेट लिइन् ।
त्यसअघि वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो ।
थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेलिन्। उनले ५१ बलमा अविजित ६३ रन बनाइन् । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १(१ विकेट लिए।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















