सदन खुलाउने रविको प्रयास असफल, विपक्षी दलहरुसँग कुरा मिलेन
काठमाडौं । अवरुद्ध संसद बैठक खुलाउन विपक्षी दलहरूले रखेको मध्यमार्गी प्रस्ताव सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अस्वीकार गरेपछि सदन खुलाउने रास्वपा सभापति रवि लामिछानेको प्रयास असफल हुने देखिएको छ ।
पहिलो पटक सदनमा उपस्थित भएर बैठकलाई सम्बोधन गर्दा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भारतको भूमि नेपालले अतिक्रमण गरेको रहेछ भनेर दिएको अभिव्यक्तिका कारण विपक्षी दलहरुले सदन अवरोध गर्दै आएका छन् ।
विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र श्रम संस्कृती पाटीले सदन अवरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री शाह संसदमा आएर स्पष्टीकरण नदिने अडानमा रहेपछि उनीहरूले राखेको मध्यमार्गी प्रस्तावमा रास्वपा नेतृत्व सहमत बन्न सकेको छैन । विपक्षी दलहरुले प्रधानमन्त्रीको लिखित सम्बोधनलाई कुनै मन्त्रीले संसदमा उभिएर सम्बोधन गर्ने प्रस्ताव राखेका छन् ।
तर, रास्वपाले भने परराष्ट्रमन्त्रीले प्रष्ट पार्ने भन्दै प्रधानमन्त्री आउने वा उनको लिखित सम्बोधन संसदमा मन्त्रीले पढ्ने सम्भावना नरहेको बताएको छ ।
रास्वपा सभापति रवि लामिछानेले बोलाएको विपक्षी दलहरूको बैठकमा विपक्षी दलका नेताहरू प्रधानमन्त्री आउन नसक्ने कारण बताएर उनको हस्ताक्षर भएको लिखित जवाफ जुनसुकै मन्त्रीले पढे पनि हुने विपक्षीको प्रस्ताव रास्वपाले नमानेको हो ।
सिंहदरबारमा बसिरहेको बैठकमा विपक्षीले गरेको प्रस्तावमा लेखिएको छ–‘प्रधानमन्त्री आउन नसक्ने कारण बताएर उहाँको हस्ताक्षर भएको लिखित जवाफ खटाएको जुनसुकै मन्त्रीले पढ्दा हुन्छ ।’
तर, रास्वपाका सभापति लामिछानेले भने त्यो प्रस्ताव अस्वीकार गरेका छन् । उनले बैठकमा भने–‘परराष्ट्रमन्त्रीले आफ्नो तरिकाले बोल्नुहुन्छ ।’
बैठकमा लामिछानेको प्रस्तावमा नेपाली कांग्रेस केही लचक हुन खोजे पनि एमाले नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत भने त्यो बटम लाइनबाट पछि नहट्ने अडानमा छन् ।
यद्यपी बैठक अझै जारी रहेकाले सहमत हुनसक्ने कांग्रेसका एक सांसदले अनलाइन नेपाललाई बताए । उनले भने–‘बैठक अझै जारी नै छ । आज सहमति हुन्छ र सदन खुल्छ ।’
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा, एमालेबाट उपाध्यक्ष रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर छन् ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन, प्रवेश हमाल र युवराज दुलाल सहभागी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दलका नेता ज्ञानबहादुर शाही र प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग सहभागी छन् ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















