मतदाता नामावली विवादपछि रास्वपा बागमती प्रदेश निर्वाचन स्थगित



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ।

मंगलबार उद्घाटन गरिएको अधिवेशन आज निर्वाचन प्रक्रियामा देखिएको विवादका कारण स्थगित गरिएको हो । मतदानका लागि छापिएको मतपत्रमा एक प्रत्याशी सदस्यको नाम छुटेको पाइएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद चर्किएपछि अधिवेशन स्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । आज पनि मतदान प्रक्रिया ढिलाइ भएपछि प्रतिनिधिहरू स्थल छोडेर बाहिरिएका थिए ।

करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

साथै आयोगले मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न लागिएको बताएको छ ।

अब निर्वाचनको नयाँ कार्यतालिका निर्वाचन समितिको आगामी सूचनापछि मात्र स्पष्ट हुने भएको छ।

बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन्।

यसअघि पनि रास्वपाले नेतृत्व चयनको विषयलाई लिएर मधेश प्रदेशअन्तर्गत विभिन्न जिल्लामा विवाद देखिएपछि मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित गरेको थियो ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्