लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईका लागि डिजिटल कर्जा सुविधा उपलब्ध गराउने सहकार्य



काठमाडौँ, २८ जेठ । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रालि (प्राविधिक सेवा प्रदायक–टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यम (एसएमई) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ।

नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस सुविधाको लाभ लिन व्यवसायले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली प्रयोग गरेको हुनुपर्नेछ। साथै, आइएमएस सफ्टवेयरमा आबद्ध तथा आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू यस योजनाका लागि योग्य हुनेछन्।

सहकार्यअन्तर्गत आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायक (टीएसपी) का रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ। उक्त प्लेटफर्ममार्फत योग्य उद्यमहरूले आफ्नो ईआरपी प्रणालीमा उपलब्ध व्यावसायिक तथ्याङ्कका आधारमा डिजिटल माध्यमबाट कर्जा आवेदन तथा आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।

यस व्यवस्थाले कर्जा प्राप्तिको प्रक्रिया थप सरल, छरितो र पारदर्शी बन्नुका साथै व्यवसायहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।

बैंकका अनुसार यस पहलले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहयोग पुर्‍याउने र व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रोत्साहन गर्नेछ। डाटा–आधारित मूल्याङ्कन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया प्रभावकारी बन्ने भएकाले यसले साना तथा मझौला उद्यमहरूको दिगो विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

लक्ष्मी सनराइज बैंकको बैंकिङ विशेषज्ञता र आइएमएस सफ्टवेयरको प्रविधिगत क्षमताको संयोजनले व्यवसायहरूलाई छिटो, सहज र पारदर्शी रूपमा कर्जा पहुँच उपलब्ध गराउँदै नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्