कुमारी बैंक र आइएमएस सफ्टवेयरबीच सहकार्य, नेपालमै पहिलो डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक
काठमाडौँ, २८ जेठ । कुमारी बैंक लिमिटेड ले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आइएमएस सफ्टवेयर प्रा.लि. सँगको सहकार्यमा देशकै पहिलो एकीकृत रियल–टाइम डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई उक्त प्लेटफर्ममार्फत धितोबिनै कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । यससँगै कर्जा आवेदन, मूल्याङ्कन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मका प्रक्रिया पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन हुनेछन्, जसले परम्परागत कागजी प्रक्रिया र शाखा धाउने झन्झट हटाउने अपेक्षा गरिएको छ ।
ERP प्रणालीसँग प्रत्यक्ष एकीकरण भएको यस प्ल्याटफर्ममार्फत बैंकले व्यवसायको बिक्री, कारोबार र मौज्दातसम्बन्धी वास्तविक समयका तथ्यांकका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सक्नेछ । यस आधारमा योग्य व्यवसायहरूलाई कार्यसम्पादनका आधारमा अधिकतम रु ५ लाखसम्मको चालु पुँजी कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
कर्जाको भुक्तानी १२ महिनासम्मको समान मासिक किस्ता (EMI) मार्फत गर्न सकिने व्यवस्था गरिएको छ । सेवाको प्रयोग र नियामकीय निर्देशनअनुसार भविष्यमा कर्जा सीमा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।
यो पहलले विशेषगरी साना तथा मझौला उद्यम (SME) हरूको वित्तीय पहुँच विस्तार गर्न सहयोग पुर्याउने र डिजिटल वित्तीय समावेशीकरणलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
बैंकका अनुसार देशभर रहेका २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















