म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमण, समावेशिता र आतिथ्य संस्कृतिको प्रशंसा
काठमाडौँ, ११ जुन २०२६ । डेभिड म्यारियटको नेपाल भ्रमणले आतिथ्यता, संस्कृति र समावेशिताप्रतिको नेपालको अभ्यासलाई अन्तर्राष्ट्रिय रूपमा उजागर गरेको छ।
उहाँ Marriott International अन्तर्गतको Kathmandu Marriott Hotel मा हुने जे.डब्लु. म्यारियट काठमाडौं भ्यालीसम्बन्धी होटल व्यवस्थापन सम्झौता हस्ताक्षर कार्यक्रमअघि ७ जुन २०२६ मा नेपाल आइपुग्नुभएको हो।
नेपाल आगमनका क्रममा उहाँलाई परम्परागत नेपाली आतिथ्यतासहित स्वागत गरिएको थियो। यस अवसरमा डाउन सिन्ड्रोम सोसाइटीका बालबालिकासँगको विशेष भेटघाट तथा होटलमा कार्यरत डाउन सिन्ड्रोम भएका कर्मचारीहरूको योगदानको सम्मानसमेत गरिएको थियो। यो कार्यक्रमलाई समावेशिता, सम्मान र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
डेभिड म्यारियटले म्यारियट इन्टरनेशनलमा २५ वर्षभन्दा बढी समय विभिन्न नेतृत्व भूमिकामा काम गरिसक्नुभएको छ। हाल बोर्ड अध्यक्षका रूपमा उहाँले १४६ देश तथा क्षेत्रमा फैलिएका ३० भन्दा बढी ब्रान्डअन्तर्गत सञ्चालित ९,९०० भन्दा बढी होटल तथा सम्पत्तिहरूको विश्वव्यापी सञ्जालको नेतृत्व गरिरहनुभएको छ।
उहाँको नेतृत्वमा नेपालमा JW Marriott Kathmandu Valley परियोजनाको विकासले देशलाई अन्तर्राष्ट्रिय लक्जरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा एशिया–प्यासिफिक क्षेत्रका वरिष्ठ नेतृत्व टोलीका सदस्यहरूको समेत सहभागिता रहेको थियो। टोलीले नेपालमा आतिथ्य क्षेत्रको सम्भावना, पर्यटन विस्तार र स्थानीय समुदायसँगको सहकार्यबारे छलफल गरेको जनाइएको छ।
म्यारियट इन्टरनेशनलले नेपाललाई प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाले सम्पन्न मुलुकका रूपमा मूल्याङ्कन गर्दै दीर्घकालीन लगानी तथा विस्तारका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा लिएको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















