नेपाल बैंकको वेबसाइट अपाङ्गतामैत्री, डिजिटल पहुँच विस्तार
काठमाडौँ, २८ जेठ । नेपाल बैंक लिमिटेड ले आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाउँदै समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवातर्फ महत्वपूर्ण कदम अघि बढाएको छ ।
नेपालको पहिलो बैंकका रूपमा परिचित यस बैंकले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई डिजिटल बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्ने बनाउन वेबसाइटमा विभिन्न पहुँचमैत्री सुविधा समावेश गरेको जनाएको छ ।
नयाँ प्रणालीअनुसार वेबसाइटमा स्क्रिन रिडरमैत्री संरचना, अक्षर आकार परिवर्तन गर्ने सुविधा, उच्च कन्ट्रास्ट (high contrast) विकल्प तथा न्यून दृष्टि भएका प्रयोगकर्ताका लागि आवश्यक अन्य सहायक सुविधा समावेश गरिएको छ ।
बैंकका अनुसार यस कदमले सबै वर्गका ग्राहकलाई समान पहुँच सुनिश्चित गर्दै समावेशी बैंकिङ सेवाप्रति संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटिएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत सेवा विस्तार र सुधारलाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















