आइएमई २६औँ वर्षमा प्रवेश, डिजिटल प्रविधिमार्फत वित्तीय सेवामा थप विस्तार गर्ने प्रतिबद्धता



काठमाडौँ, २९ जेठ । नेपाली रेमिटेन्स सेवाको अग्रणी संस्था आइएमई लिमिटेडले स्थापनाको २६औँ वार्षिकोत्सव मनाउँदै डिजिटल प्रविधिको उच्चतम उपयोगमार्फत रेमिटेन्स तथा वित्तीय सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ सुरक्षित, छिटोछरितो र एकीकृत वित्तीय सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

उनले वैदेशिक रोजगारीका क्रममा प्राप्त अनुभवबाट सुरु भएको सानो परिकल्पना आज रेमिटेन्स सेवाभन्दा बाहिर विस्तार भई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको भरपर्दो अंग बन्न सफल भएको उल्लेख गरे । आइएमईले दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिता र सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ थियो ।

अध्यक्ष ढकालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको सन्दर्भमा नवीनतम प्रविधि आत्मसात् गर्दै रेमिटेन्स तथा अन्य वित्तीय सेवालाई अझ परिष्कृत, सुरक्षित र प्रभावकारी बनाइने बताए ।

आइएमई ग्रुपका संस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षको यात्रामा “रेमिट भनेकै आइएमई” र “आइएमई भनेकै रेमिट” भन्ने पहिचान स्थापित हुनु गौरवको विषय भएको बताए । उनले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग गर्ने तथा विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सरकारसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य–मान्यतालाई आधार बनाएर कम्पनीले सेवा विस्तार गरिरहेको बताए । उनले प्रविधिको विकासलाई आत्मसात् गर्दै विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिने लक्ष्य रहेको उल्लेख गरे ।

समारोहमा आइएमईको नयाँ लोगो सार्वजनिक गरिएको थियो । कम्पनीका अनुसार नयाँ लोगोले आइएमईका विस्तारित वित्तीय तथा डिजिटल सेवाको प्रतिनिधित्व गर्नेछ ।

वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरकम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । साथै, लामो समयदेखि कम्पनीमा आबद्ध कर्मचारीलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा आइएमई लिमिटेड तथा आइएमई ग्रुपअन्तर्गतका विभिन्न कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्