विपद् व्यवस्थापनलाई प्राथमिकता दिन काँग्रेसको निर्देशन



काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा रहेका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गर्न निर्देशन दिएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै पार्टी सभापति गगनकुमार थापाले स्थानीय सरकारले सम्पादन गर्नुपर्ने मुख्य कार्यमध्ये विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिइएको जानकारी दिए ।

उनका अनुसार स्थानीय तहहरूले विपद् व्यवस्थापनका सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिका तथा जिम्मेवारीहरू स्पष्ट रूपमा वर्गीकरण गरी सोहीअनुसार कार्यान्वयन गर्न पार्टीले विशेष मार्गनिर्देशन प्रदान गरेको छ ।

पार्टीको संगठन विस्तार र सदस्यता वितरणबारे चर्चा गर्दै थापाले नेपाली काँग्रेस मुलुककै सबैभन्दा ठूलो सामाजिक संस्थाका रूपमा रहेको बताए । उनले पार्टीको व्यापक सञ्जाललाई विपद् जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि तथा उद्धार–राहत कार्यमा परिचालन गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

थापाले भने, “नेपाली काँग्रेसले यसपटक हामी जहाँ–जहाँ सरकारमा छौँ, त्यहाँका सबै स्थानीय तथा प्रदेश सरकारलाई विपद् व्यवस्थापनलगायतका प्रमुख कामहरूबारे स्पष्ट निर्देशन दिएका छौँ । हामीले यी कामहरू यसरी गर्नुपर्छ भनेर उहाँहरूलाई बताएका छौँ ।”

सदस्यता अभियानबारे जानकारी दिँदै थापाले हाल करिब साढे ६ लाखदेखि ७ लाखसम्म सदस्य दर्ता भइसकेको र प्रक्रिया पूरा हुँदा यो सङ्ख्या ८ देखि ९ लाखसम्म पुग्ने बताए ।

उनले ९ लाख सदस्यलाई एकैसाथ सचेत र प्रशिक्षित बनाउन सके विपद् व्यवस्थापनको क्षेत्रमा ठूलो राष्ट्रिय योगदान पुग्ने बताए । साथै पार्टीको शक्तिलाई सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनका कार्यमा केन्द्रित गरिने पनि स्पष्ट पारे ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्