अमेरिका–इरान शान्ति सम्झौता २४ घण्टाभित्र हुन सक्ने पाकिस्तानको दाबी
तेहरान, ३० जेठ । संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्व युद्ध अन्त्य गर्ने विषयमा २४ घण्टाभित्र सम्झौता हुन सक्ने पाकिस्तानले दाबी गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल एक्समार्फत दुवै पक्षबीच पहिलेभन्दा धेरै विषयमा सहमति जुटिसकेको र स्थायी शान्तिका लागि सम्झौता अन्तिम चरणमा पुगेको बताए ।
यस क्षेत्रमा जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा समेत प्रभाव परेको छ । स्ट्रेट अफ हर्मुज क्षेत्रमा पछिल्ला दिनमा पुनः तनाव देखिए पनि मध्यस्थकर्ताहरूले वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् ।
अप्रिल ८ मा भएको युद्धविरामपछि शान्ति सम्झौताका लागि लगातार वार्ता भए पनि हालसम्म औपचारिक सहमति हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामलाई दीर्घकालीन बनाउने उद्देश्यले वार्ता जारी रहेको बताएका छन् ।
प्रधानमन्त्री सरिफले एक्समा लेखेका छन्, “पहिलेभन्दा धेरै विषयमा सहमति जुटेको छ र स्थायी शान्तिका लागि सम्झौता गर्न हामी सफलता नजिक छौँ । अर्को २४ घण्टाभित्र अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।”
उनका अनुसार पाकिस्तानले शान्ति सम्झौताका लागि आवश्यक इलेक्ट्रोनिक दस्तावेजमा हस्ताक्षरको तयारी गरिरहेको छ र त्यसपछि अर्को हप्ता प्राविधिक स्तरको वार्ता आयोजना गरिनेछ ।
यद्यपि अमेरिका र इरान दुवै पक्षबाट सम्झौताबारे औपचारिक पुष्टि भने सार्वजनिक भएको छैन ।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार
















