सुरुङमार्ग अध्ययन र निर्माणका लागि आगामी आवमा ६७ करोड बजेट विनियोजन
काठमाडौँ, ३० जेठ । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा सुरुङमार्गको अध्ययन तथा निर्माणका लागि ६७ करोड एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका योजना समावेश गरिएको छ ।
निर्माणाधीन सिद्धबाबा सुरुङमार्गका लागि सबैभन्दा बढी ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभर निर्माणका लागि १२ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ ।
सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
टोखा–छहरे–गुर्जु भञ्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार रुपैयाँ बजेट छुट्याइएको छ । विभिन्न प्रस्तावित सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि एक लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
दोलालघाट–चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार रुपैयाँ, हात्तीसार–बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार रुपैयाँ तथा खुर्कोट–चियाबारी सुरुङमार्ग अध्ययनका लागि तीन लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, शिवपुर–भालुवाङ सुरुङमार्ग र रानीघाट–भुरीगाउँ सुरुङमार्गका लागि पनि समान रूपमा तीन लाख ९२ हजार रुपैयाँका दरले बजेट छुट्याइएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार
















