बीपी राजमार्ग बस दुर्घटनाको छानबिन गर्न छ सदस्यीय समिति गठन



बनेपा, ३० जेठ । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा शुक्रबार भएको बस दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरीले छ सदस्यीय समिति गठन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिका सदस्यहरूमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रबिन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक गङ्गा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक दिनेश खरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ नायब निरीक्षक टङ्क सिवाकोटी (सदस्य सचिव) तथा इलाका प्रहरी कार्यालय देविटारका प्रहरी हवल्दार बासुदेव खड्का रहेका छन् ।

समितिलाई दुर्घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्षको पहिचान गरी सत्यतथ्य छानबिनसहित सात दिनभित्र प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा चार महिला र चार पुरुष गरी आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।

धुलिखेल अस्पतालका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्