गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै हर्कले भने- प्रहरीको स्वेच्छाचारिता रोकियोस्
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम संसदीय दलका नेता हर्क साम्पाङले प्रहरीको पछिल्लो कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष साम्पाङले नागरिक सुरक्षामाथि प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)द्वारा भएको भनिएको अतिक्रमण र नेपाली नागरिकमाथि गरिएको धाकधम्कीको विरोध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति उनले आपत्ति जनाए ।
सांसद राईले प्रहरीको कार्यशैलीप्रति थप प्रश्न उठाउँदै विद्यार्थीका मोबाइल खोस्ने, नष्ट गर्ने तथा एक विपन्न टेम्पो चालकको सवारी साधन भीरबाट खसालिएको घटनाको आलोचना गरे । उनले यस्ता कार्यलाई अमानवीय भन्दै दोषीमाथि कारबाही हुनुपर्ने बताए ।
उनले भने- ‘एउटा गरिब दुखी टेम्पो चालकको टेम्पो वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइदिँदै गरेको भिडियो देखियो । त्यसतर्फ गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहान्छु । दोषिलाई कारवाही होस् र क्षतिपूर्तीको व्यवस्था गरियोस् । त्यो सँगै घरको छानामा ढुंगा हान्दै गरेको पनि देखियो । अचम्म लाग्छ, आजभोली प्रहरी यसरी उद्दण्ड भएको देख्दा । प्रहरी देख्ने वित्तिकै शान्ति सुरक्षाको महसुस हुनुपर्ने हो । प्रहरी देख्दा डर र आतंक मान्ने वातावरण तुरुन्त सच्याइयोस् ।’
यसैगरी माईतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा सहभागी अजय सोदारी र बिरजन बिकलाई पक्राउ गरी झुट्टा मुद्दा लगाउने प्रयास भइरहेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले उनीहरूलाई तत्काल रिहा गर्न पनि माग गरे ।
यस्तै सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको भनिएको विवादित अभिव्यक्तिलाई सभामुखले संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याए ।
उनले थप भने- ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं ।’
प्रकाशित मिति: १ असार २०८३, सोमबार
















