सरकारलाई एमालेको चुनौती- धम्की मात्रै होइन, गिरिबन्धु टि-स्टेटको फाइल तुरुन्तै खोलियोस्
काठमाडौं । नेकपा एमालेले अर्थमन्त्रीले ‘फाइल खोल्ने’ चेतावनी दिएको भन्दै गिरिबन्धु टी–स्टेटसहित सबै विवादित फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी उपनेता पद्या अर्यालले गिरिबन्धु टी-स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकतामा राखेर खोल्न सरकारलाई चुनौती दिएकी हुन्।
‘फाइल खोल्ने धम्की दिने मात्रै होइन, त्यो तुरुन्तै खोलियोस् ‘सबैभन्दा पहिला टि स्टेटको पाइल खोलियोस्।यो हार्दिक आग्रह छ । ओम्नी हुन कि वाइडबडी हुन कि के के हुन्। ति खोलियोस्,’ उनले भनिन् ।
अर्यालले सरकारले विपक्षी राजनीतिक दल र तिनका नेतालाई फाइल खोल्छु भन्दै धम्क्याउने काम गरिरहेको आरोप पनि लगाइन् ।
विपक्षी दलका सांसदले करको दर हेरफेर गरिएको विषयमा प्रश्न उठाउँदा जेठ २८ गतेको संसद् बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ छैनौँ’ भनेका थिए ।
त्यसैलाई लिएर अर्यालले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडी लगायतका सबै विवादित प्रकरणको निष्पक्ष छानबिन गर्न चुनौती दिँदै सत्य तथ्य सार्वजनिक गर्नुपर्ने बताइन् ।
छानबिनपछि आरोप सत्य सावित नभए त्यसको नैतिक तथा राजनीतिक जिम्मेवारी लिन तयार हुनुपर्ने उनको भनाइ थियो।
प्रकाशित मिति: १ असार २०८३, सोमबार
















