‘ककरोच जनता पार्टी’का संस्थापक दीपकेमाथि सडकमै थप्पडको बर्साद, पाँच जना पक्राउ
एजेन्सी। ‘ककरोच जनता पार्टी’ (सीजेपी)का संस्थापक अभिजीत दीपके सडकमै कुटिएका छन् ।
सोमबार दिउँसो भारतको राजस्थान राज्यको राजधानी जयपुरस्थित ‘सहिद स्मारक’मा आयोजना गरिएको शान्तिपूर्ण सभामा दीपके मञ्चतर्फ जाँदै गर्दा त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो ।
समर्थकहरूले दीपकेलाई काँधमा बोकेर लैजाँदै गर्दा भीडमा रहेका केही विपक्षी व्यक्तिहरूले उनको स्कार्फ तानेर तल खसालेका थिए।
त्यसपछि उनीहरूले दीपकेमाथि कयौँ थप्पड प्रहार गरेका सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा देख्न सकिन्छ ।
उक्त घटनापछि कार्यक्रमस्थलमा ठूलो हुल दंगा र भागदौड पनि मच्चिएको थियो ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार अभिजीतलाई थप्पड हानेको आरोपमा पाँच जना पक्राउ परिसकेका छन् ।
यसैबीच अभिजीतले जयपुरमा भएको थप्पडकाण्ड डर र कायरताको निसानी हो भन्ने प्रतिक्रिया दिएका छन् ।
अभिजीतसहितको सीजेपीले केहीदिन यता भारतको नेशनल इलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट (नीट)को प्रश्नपत्र बाहिरिएको प्रकरण तथा शिक्षा प्रणालीका कमजोरीहरूको विरोधमा देशव्यापी प्रदर्शन गरिरहेको छ ।
प्रदर्शनमा सीजेपील केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन् ।
सोमबार पनि सोही सन्र्दभमा दिल्ली र पुणेपछि जयपुरमा पनि उक्त प्रदर्शन आयोजना गरिएको थियो ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार












