मधेशमा मानसिक स्वास्थ्य समस्याबाट एक वर्षमा १,२८८ जनाको मृत्यु



जनकपुरधाम, २ असार । मधेश प्रदेशमा मानसिक स्वास्थ्य समस्याका कारण एक वर्षको अवधिमा एक हजार २ सय ८८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

स्वास्थ्य निर्देशनालयको आयोजना तथा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) र टिओपी नेपालको सहयोगमा जनकपुरधाममा आयोजित “मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा कार्यक्रम”को प्रदेशस्तरीय वार्षिक समीक्षामा उक्त जानकारी दिइएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार मानसिक स्वास्थ्य समस्याका कारण झुन्डिएर एक हजार १ सय ६ जना र विष सेवनबाट १ सय ८२ जनाको मृत्यु भएको छ । पछिल्ला वर्षहरूमा यस्तो कारणले मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।

कार्यक्रम उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्रप्रसाद साहले मानसिक स्वास्थ्य समस्या बढ्दै जानु चिन्ताको विषय भएको बताए ।

मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले मधेश प्रदेशमा करिब ६४ लाख जनसङ्ख्या रहे पनि मानसिक रोग उपचारका लागि सरकारी र निजी क्षेत्रमा गरी जम्मा १० जना विशेषज्ञ चिकित्सक मात्र रहेको जानकारी दिए ।

यूएनएफपिएका मधेश प्रमुख डा. नरेन्द्रकुमार मिश्रले मानसिक स्वास्थ्यका कारण वार्षिक करिब १,३०० जनाको मृत्यु हुनु गम्भीर विषय भएकाले स्थानीय तहमा परामर्श सेवा प्रभावकारी बनाउनुपर्ने बताए ।

स्वास्थ्य निर्देशनालयका अनुसार मधेशका १३६ पालिकामध्ये ९३ पालिकामा मनोसामाजिक परामर्श सेवा विस्तार गरिएको छ भने मानसिक रोगसम्बन्धी अत्यावश्यक औषधि वितरणको व्यवस्था पनि गरिएको छ ।

समीक्षामा सहभागी स्वास्थ्यकर्मी तथा सरोकारवालाले मानसिक स्वास्थ्य समस्या समाधानका लागि नीति सुधार र सेवाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्