सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा भुवनको उत्कृष्ट सुरुआत
काठमाडौं, २ असार । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप को पहिलो दिन भुवन नगरकोटी ९-अन्डर ६३ स्कोरसहित शीर्षस्थानमा रहनुभएको छ ।
भुवनले बोगी रहित खेल प्रस्तुत गर्दै तीन एमेच्योर गल्फर सदभाव आचार्य, तेन्जिङ छिरिङ र नोर्बु छिरिङ शेर्पाभन्दा चार स्ट्रोकको अग्रता लिनुभयो। ती तीनै खेलाडी ५-अन्डर ६७ स्कोरसहित संयुक्त दोस्रो स्थानमा छन्।
शुक्रबहादुर राई र तोरणविक्रम शाही ४-अन्डर ६८ स्कोरसहित संयुक्त पाँचौँ स्थानमा रहेका छन्। यस्तै, वाङचेन ढोन्डुप, निरज तामाङ, भुवनकुमार रोक्का, सुबाश तामाङ र दिनेश प्रजापति ३-अन्डर ६९ स्कोरसहित संयुक्त सातौँ स्थानमा छन्।
साबिक विजेता राहुल विश्वकर्मा २-अन्डर ७० सहित १२औँ तथा धनबहादुर थापा १-अन्डर ७१ सहित १३औँ स्थानमा रहनुभएको छ।
भुवनले पहिलो, तेस्रो, सातौँ, ११औँ, १३औँ, १४औँ र १५औँ होलमा बर्डी तथा १८औँ होलमा इगल प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गर्नुभयो।
१८ लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा ४६ प्रोफेसनल र २२ एमेच्योर गरी ६८ खेलाडी सहभागी छन्। दोस्रो दिनपछि कट लागू हुनेछ र शीर्ष १८ प्रोफेसनलसहित कटभित्र पर्ने एमेच्योर खेलाडीले अन्तिम दुई चरणमा स्थान बनाउनेछन्।
प्रतियोगिताका विजेताले ३ लाख २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार











