राप्रपा केन्द्रीय बैठक बहिष्कार गरेको बारे थापा, राणा र लोहनीले दिए स्पष्टीकरण
काठमाडौँ। काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना पूर्वअध्यक्षले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। यसअघिको केन्द्रीय कार्यसमिति बैठक समेत बहिष्कार गरेका उनीहरूले पार्टीमा ‘पार्टीको बृहत्तर हित, आन्तरिक एकता र लोकतान्त्रिक संस्कृतिको संरक्षण’ आवश्यक पर्ने बताएका छन्।
पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापाले बिहीबार (असार ७ गते) पार्टीको बैठक बहिष्कार गरेका थिए।
वक्तव्यमा उनीहरूले पार्टीप्रतिको आफ्नो प्रतिबद्धता अटल रहेको स्पष्ट पार्दै लामो समयदेखि देखिएका सङ्कुचित सोच, विधानविपरीतका गतिविधि र पक्षपातपूर्ण कारबाहीमा सुधार ल्याउने प्रयास असफल भएपछि साङ्केतिक विरोध गर्नुपरेको बताएका छन्। ‘पार्टीको बृहत्तर हित, आन्तरिक एकता र लोकतान्त्रिक संस्कृतिको संरक्षणका लागि साङ्केतिक विरोधस्वरूप हामी उक्त बैठकमा अनुपस्थित भएका हौं,’ वक्तव्यमा भनिएको छ।
राप्रपा अहिले वैचारिक, सङ्गठनात्मक र रणनीतिक दृष्टिले चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै पूर्वअध्यक्षत्रयले पार्टीलाई सशक्त राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न यथाशीघ्र स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्। अनुशासनका नाममा पूर्वाग्रह, प्रतिशोध र व्यक्तिगत आग्रहका आधारमा कसैलाई पनि कारबाही गर्न नहुने उनीहरूको भनाइ छ। साथै, केन्द्रीय समितिको बैठकमा कार्यसमिति बाहिरका व्यक्तिलाई सहभागी गराउने परिपाटीप्रति पनि उनीहरूले असन्तुष्टि जनाएका छन्।
पार्टीभित्र बढ्दो निराशा र अविश्वासको वातावरण अन्त्य गर्न पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने गरी एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न उनीहरूले सुझाव दिएका छन्। पार्टी निर्माणमा रगत र पसिना बगाएका पूर्वअध्यक्षहरूमाथि नै जिम्मेवार व्यक्तिहरूबाट लाञ्छना र आरोप लगाउने प्रवृत्ति देखिएको भन्दै उनीहरूले यस्तो कार्य अत्यन्त दुःखद र अस्वीकार्य रहेको चेतावनी दिएका छन्।
केन्द्रीय समितिको बैठकमा अनुपस्थित भए पनि आगामी २०८३ मङ्सिर २६ गतेदेखि केन्द्रीय महाधिवेशन आयोजना गर्ने पार्टीको निर्णयलाई भने तीनै जना पूर्वअध्यक्षले स्वागत गरेका छन्। महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा पार्टीको स्थापित परम्परा र अभ्यासअनुसार वर्तमान केन्द्रीय समिति अब स्वतः ‘महाधिवेशन आयोजक समिति’ मा रूपान्तरण हुनुपर्ने उनीहरूको माग छ। विगतमा अध्यक्षकै उपस्थितिमा प्रस्तुत गरिएका सुझावहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै महाधिवेशनलाई स्वच्छ र परिणाममुखी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
आफूहरूको कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा पूर्वाग्रह नरहेको र कुनै गुट वा समूहको राजनीतिमा पनि संलग्न नरहेको उनीहरूले दाबी गरेका छन्। ‘हाम्रो एक मात्र चाहना र चिन्ता भनेको हाम्रो जीवनकालमै पार्टी कमजोर वा पतन भएको देख्न नपरोस् भन्ने हो,’ संयुक्त वक्तव्यमा उल्लेख छ।
मूकदर्शक बनेर बस्न वा पलायन हुन नसक्ने भन्दै उनीहरूले पार्टी छाडेर गएका सम्पूर्ण नेता कार्यकर्तालाई पुनः पार्टीमा फर्किन र अन्योलमा रहेका कार्यकर्तालाई उच्च मनोबलका साथ महाधिवेशनको तयारीमा जुट्न आह्वान समेत गरेका छन्। आगामी महाधिवेशनले ‘हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र’ को आधारमा सुशासन, राष्ट्रिय एकता र समृद्धि सुनिश्चित गर्न सक्ने स्पष्ट वैचारिक मार्गदर्शन र व्यवहारिक कार्ययोजना प्रस्तुत गर्नुपर्ने र यसैबाट मात्र राप्रपाले जनविश्वास पुनः प्राप्त गर्ने उनीहरूको निष्कर्ष छ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार












