रास्वपा महाधिवेशन : सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बालेन बने प्रस्तावक
चितवन, ९असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनअन्तर्गत सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको निर्वाचन प्रक्रिया सुरु भएको छ ।
सभापति पदमा रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बसेका छन् । सभापति पदको उम्मेदवार बन्न एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने निर्वाचन आयोगले जनाएको छ ।
मनोनयन फारम दर्ताका लागि लामिछाने र शाह सँगसँगै महाधिवेशन स्थलमा रहेको निर्वाचन आयोगको सचिवालय पुगेका थिए । लामिछानेले मनोनयन दर्ता गरेपछि दुवै जना बाहिर आएर महाधिवेशन प्रतिनिधि तथा नेता–कार्यकर्तालाई अभिवादन गरेका थिए ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार नयाँ निर्वाचन तालिकाअनुसार सभापति पदका लागि साँझ ७ बजेदेखि ७:३० बजेसम्म मनोनयन फारम वितरण तथा दर्ताको समय तोकिएको थियो ।
त्यस्तै, केन्द्रीय सदस्य पदका लागि साँझ ७:३० बजेदेखि राति ९:३० बजेसम्म मनोनयन फारम वितरण तथा दर्ता गर्ने कार्यतालिका रहेको छ । उम्मेदवारी दर्तापछि राति १० बजे प्रारम्भिक उम्मेदवार सूची प्रकाशन गरिनेछ ।
प्रारम्भिक सूचीमाथि राति १०:३० बजेसम्म दाबी–विरोध गर्न सकिनेछ । प्राप्त उजुरीमाथि छानबिन गरी राति ११:४५ बजे अन्तिम उम्मेदवार सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
त्यसपछि मौन अवधि सुरु भई असार १० गते बिहान पहिलो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ ।
मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु गरिनेछ भने पहिलो चरणको परिणामपछि पदाधिकारी पदका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ ।
प्रधानमन्त्री शाहका लागि सिर्जना गरिएको वरिष्ठ नेता पदमा भने निर्वाचन नहुने भएको छ ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












