नेपाल बैंकको नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा उद्घाटन
हेटौँडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौँडा उपमहानगरपालिका–४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।
आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंकको गौरवमय इतिहास रहेको उल्लेख गर्दै आफ्नै भवनबाट आधुनिक र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले डिजिटल बैंकिङको विस्तारसँगै बैंकले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उद्घाटन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाट, बैंकका प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्लेलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नेपाल बैंकले अपाङ्गमैत्री सेवासहित आधुनिक बैंकिङ सेवा विस्तार गर्दै आएको बताएका छन् ।
नेपाल बैंकले देशभर २ सय ३१ शाखा, २ सय ४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक प्रविधि, दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापनमार्फत ग्राहक सेवा सुधारमा जोड दिँदै आएको जनाएको छ ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












