कुन कुन राजमार्ग अवरुद्ध छन्?



काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी, पहिरो र सडक मर्मतका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीको विवरण अनुसार कोशी र बागमती प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेका छन् ।

कोशी प्रदेशका तीनवटा मुख्य सडक खण्डहरू प्रभावित भएका छन् । संखुवासभाको भोटखोला गाउँपालिका–३, स्याबुडमा गत असार ७ गते गएको पहिरोका कारण कोशी राजमार्ग अझै पनि पूर्ण रूपमा अवरुद्ध छ ।


यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–५, बलिया बुढीखोलामा असार ६ गते खसेको पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग एकतर्फी मात्र सञ्चालनमा छ । उता भोजपुर नगरपालिका–५, बोखिममा वैशाख १२ गते आएको बाढीका कारण मध्य पहाडी लोकमार्ग पनि एकतर्फी मात्र सुचारु छ । त्यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।


बागमती प्रदेशमा पनि मुख्य सडकहरूमा अवरोध देखिएको छ । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित छ। बाढीको जोखिमलाई मध्यनजर गर्दै जेठ २२ गतेदेखि नै वीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।


यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४, महालक्ष्मी क्षेत्रमा सडक मर्मतको काम भइरहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ । मर्मत कार्यका लागि यो सडक खण्ड आगामी एक महिनासम्म बन्द रहने जानकारी दिइएको छ ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्