विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीहरूलाई रिट निवेदनमा माग गरिएअनुसार आदेश किन जारी गर्न नपर्ने हो भन्ने आधार र कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
पौडेलकी पत्नी दोमाया पौडेलले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी थिइन्। उनले पक्राउ र हिरासतलाई गैरकानुनी ठहर गर्दै तत्काल रिहा गर्न माग गरेकी छन्।
रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय, सुर्खेतलाई विपक्षी बनाइएको छ।
विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












