रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भएको छ ।
गत ७ असारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशनमा पहिलो चरणमा केन्द्रीय सदस्यहरूको लागि मतदान भएको हो ।
रास्वपाका अनुसार केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ । केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ ।
पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३७९ जनाले उमेदवारी दिएका छन् ।
यसमा खुलातर्फ २१० जनाको उमेदवारी परेको छ । भूगोलतर्फ १७४ जनाको उमेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच केन्द्रीय सदस्य निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् । ६४ खुलाका लागि २१० जना प्रतिस्पर्धामा छन् ।
महाधिवेशन अन्तर्गत सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहलाई बनाउने तयारी छ।
विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












