कैलालीमा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु, सहसेनानी घाइते
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयअन्तर्गत सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान ९ः१७ बजे मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड पड्काउने क्रममा हुद्दा हिमाल विक्रम बिष्ट गम्भीर घाइते भएका थिए ।
विस्फोटबाट उनको दाहिने हातको हत्केला चुँडिनुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेका थिए । उक्त घटनामा नजिकै रहेका सह–सेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनापछि दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि गोराङ्गे ब्यारेकमै राखिएको थियो । त्यसपछि बिहान १०ः३५ बजे थप उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा दिउँसो १२ बजे हुद्दा हिमाल विक्रम बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
यता सह–सेनानी हिमराज जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












