भेनेजुएला भूकम्प : ३२ को मृत्यु, ७०० घाइते
काठमाडौं । भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण व्यापक रुपमा मानवीय र भौतिक क्षति भएको अनुमान गरिएको छ ।
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भने हालसम्म ३२ जनाको मृत्यु भएको र ७०० जना घाइते भएको जानकारी दिएकी छन् ।
खोज तथा उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढी मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको आकलन गरेको थियो ।
राजधानी क्षेत्रमा उद्धारकर्मीहरू भग्नावशेषभित्र जीवित बाँचेकाहरूको खोजी गरिरहेका छन् । कतिपय मानिसहरू भग्नावशेष मुनिबाट सहयोगका लागि पुकार गरिरहेको सुनिएको बीबीसीले जनाएको छ ।
राजधानी कराकासका धेरै भवनमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने मेट्रो सेवा पूर्ण रूपमा बन्द गरिएको छ ।
७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्पहरू राजधानीको पश्चिम क्षेत्रमा केन्द्रित थिए । यसको धक्का छिमेकी देश कोलम्बियाको बोगोटासम्म महसुस गरिएको थियो ।
भूकम्प स्थानीय समयअनुसार साँझ ६ः०४ बजे नेपाली समय अनुसार (विहीबार बिहान ३ः४९ बजे) आएको थियो । त्यसबेला भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिसहरू घरमै थिए ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका तत्काल खोज तथा उद्धार टोली, चिकित्सकीय स्रोतसाधन र मानवीय सहायता भेनेजुएलातर्फ पठाइरहेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्–‘जसले आफ्ना प्रियजन गुमाएका छन्, घाइते भएका छन् र उद्धार कार्यमा अथक रूपमा खटिएका साहसी उद्धारकर्मीहरूप्रति हाम्रो समवेदना छ ।’
अमेरिकाले जनवरी २ र ३ को रातमा भेनेजुएलामा विस्फोटक आक्रमण गरेर तत्कालिलनन राष्ट्रपति निकोलस मादुरोको घरभित्र छिरेर पक्राउ गरेको थियो । सेनाले मादुरोसहित उनकी श्रीमती सिलिया फ्लोरेसलाई पनि पक्राउ गरेर अमेरिकामा बन्धक बनाएर राखेको छ ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












